Powered By Blogger

राष्ट्रिय पोशाक विवाद !



यतिबेला देशमा पोशाक विवाद चुलिदो छ । दौरासुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिएकै कारणबाट विभिन्न क्षेत्र, परिवेश र समुदायबाट विद्रोहको स्वरहरु गुञ्जिन थालेका छन् । त्यसै विषयमा परेको रिटलाई सर्वोच्च अदालतले पनि खारेज गरिदिईसकेको छ र दौरासुरुवाललाई राष्ट्रिय पोशाककै दर्जा प्रदान गर्न आदेश गरिदिएको छ । तर पनि, यसका विपक्षमा आवाज उठ्न छाडेको छैन बरु झन् यो विवाद बढ्दै
 गइरहेको छ । यसका पछाडि कारणहरु धेरै छन्, विवाद आफ्नै छन् । तर्क कत्तिका तार्किक पनि छन् । तर, राष्ट्रका सवालमा तार्किक तर्क प्रदान गरेर तार्किक विवादमा तन्किरहनुभन्दा तार्किक निष्कर्ष निकाल्नु नै हामी सबैको उत्तरदायित्व हो ।

राष्ट्रिय पोशाकले राष्ट्रको प्रतिनिधित्व गर्छ, राष्ट्रको एकरुपता झल्काउँछ । राष्ट्रको विशिष्ट चिनारी यसले गराउँछ । अझ हाम्रो नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल त यस्तो छ कि जुन कुनै पनि देशको पहिरनभन्दा पृथक र चमकदार छ । यसको आफ्नै छुट्टै अस्थित्व छ । राष्ट्रिय पोशाक यस्तो होस्, जुन भिन्न होस् र ‘पर्सनालिटी’ झल्काओस् । ‘पर्सनालिटी’को चमकतामा सुगन्धता प्रदान गर्न सकोस् । हो, नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल त्यही किसिमको हैसियत राख्ने अकबरी पहिरन हो । जुन पहिरन पूर्खाहरुकै पालादेखि राष्ट्रिय पोशाकमा दरिदैं आएको छ ।

दौरासुरुवाल र भादगाउँले टोपीको एकता यस्तो छ कि विश्वका जुनै ठाउँमा छरिएर रहेका नेपालीहरु हुन्, उनीहरुका बीच आत्मियता प्रदान गर्छ । नेपाली हुनुको चिनारी गराउँछ, वीर नेपालीको गौरावानुभुती गराउँछ । भातृत्वको ममता पैदा गराउँछ । दौरासुरुवाल र भादगाउँले टोपीले सम्पूर्ण नेपाली रगतलाई नेपाली माटोको सुगन्ध पैदा गराउँछ । जुन यस्तो शक्ति नेपाली राष्ट्रियगान, नेपाली राष्ट्रिय झण्डा र नेपाली राष्ट्रिय पोशाकमाभन्दा अन्य कुरामा भेट्टाउन सकिन्न । हो, यति उर्जाशील नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाललाई कुनै जातजातीको ‘पेवा पोशाक’ हो भनेर विवेचना गरिनु नै गम्भिर त्रुटी हो भन्ने लाग्दैन र ?

हो, नेपाल सम्पूर्ण जातजाती, भाषाभाषी, धर्मधर्मालम्बी र सम्पूर्ण समुदायको विशिष्ट पहिचान बोकेको अक्षुण राष्ट्र हो । अनेकताभित्रको एकता नै हाम्रो राष्ट्रको गौरब हो । विश्वका कुनै पनि मुलुकमा यस किसिमको भाषा, समुदाय, जाती, क्षेत्र र सम्प्रदायको एकता र मौलिक संस्कृतिको ब्यापकता एकैदेशमा पाइदै, पाइदैन । हामी कला संस्कृति र पहिचानले जति धनी धनी छौं, त्यो पहिचानलाई चीरकालसम्म अटुट बनाइराख्नु पनि उत्तिकै जरुरी छ । सबै भाषा, संस्कृति, जातजाती र रितिरिवाजको जगेर्ना गर्नु देशकै परमदायित्व हो । अझ हाम्रो देशको तीन भौगोलिक परिवेशयुक्त विविधतालाई संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य पनि हो ।

अझ देश संघीयतामा गई सकेको अवस्थामा स्थान, क्षेत्र, जातजाती र भाषाभाषी अनुरुप सोही प्रकारको कला, संस्कृति र पहिचानको प्रवद्र्धन गर्नु अत्यन्तै लाभदायक कुरो हो । तर, देशमा धेरैथरीका जातजाती छन्, भाषाभाषी छन्, धर्मधर्मालम्बी छन्, भन्दैमा राष्ट्रले एउटा विशिष्ट पहिरनलाई राष्ट्रिय पोशाकभनी छुट्याउनु नै गलत भन्ने छ र ? फेरि, त्यही पोशाक पनि कसैको लोभ, लालच र प्रपञ्जमा फसेर राष्ट्रिय पोशाकमा दरिन पुगेको अवस्थामा हो भने मुद्दा फरक हुन सक्थ्यो । यो त त्यही पोशाक हो, जुन पीतापूर्खाको पालादेखि नै राष्ट्रिय पोशाकमा दरिदंै आएको छ । यो त्यही पोशाक हो, जसले नेपालीको पहिरनको पहिचानको गौरब बोक्दै आइरहेको छ । यो कुनै जातजाती र भाषाभाषीको विशेष पहिचान हुँदै होइन ।

राष्ट्रिय पोशाकको अर्थ राष्ट्रिय पोशाकको संकेत मात्र हो । राष्ट्रिय पहिरनको पहिचान हो । यस पहिरनले अन्य भाषाभाषी, जातजाती, धर्म, सम्प्रदायको अनादर गरेकै छैन । देश संघीयतामा गएपछि त्यस क्षेत्रको अनुरुपता अनुरुप क्षेत्रीय पहिरनको पहिचान गर्ने छुट त संघीयराज्यमा अवश्य हुन्छ नै । यो त केवल राष्ट्रिय पहिरनको पहिचान न गरिएको हो । संघीयता पश्चात स्थान अनुसार, विशिष्टता अनुसार पहिरनको पहिचान गर्दा सबैको हित अवस्य हुने नै छ । अझ त्यति मात्र पनि होइन, स्थान र क्षेत्र अनुसार भाषा, धर्म, जातीजनजातीको पहिचान गर्नु अझ राष्ट्रकै हितको कुरा हो । संघीयराज्यमा यो किसिमको व्यबस्थागर्दा कतैकसैलाई आपत्ति हुने छैन । तर, समग्र मुलुकको कुरो उठ्दा क्षेत्रीय, जातीय, भाषिक र सम्प्रदायको मुद्धा निकालेर पोशाक विवादमा बवण्डर नमच्चाउँदा नै ठीक हो नि ! होइन र ?

फेरि, देश यतिबेला संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । देशको अवस्था स्थीर छ । यस्तो अवस्थामा देशलाई एकसुत्रमा बाँधिरहेको पोशाकको विवाद निकालेर कसलाई कति फाइदा पुग्ला ? बरु, त्यसको सट्टा संविधान नबनेर देश थिलथिलो भइसकेको छ, त्यतापट्टिको मुद्दालाई जोडतोडकासाथ उचालेर देशलाई समुद्धिको बाटोमा अग्रसर गराउने दिशामा लाग्न सके सबैको हित हुने थियो । एकसुत्रमा र आपसी आत्मियतामा सहपाठी भएर रहेका नेपाली–नेपालीबीच वैमनश्यता पैदा गराउने काम कसैले पनि नगर्दा नै राम्रो होइन र ? सबैको सबै कुरामा एकमत हुँदैन, मतमतान्तर पक्कै रहन्छ । त्यसलाई सम्बन्धित स्थानमा पेश गरौं न कि त्यसैलाई नै हतियार बनाएर आफ्नो दुनो सोझ्याउने काम गरौं ।

अझ यस लेखको चुरो कुरो के हो भने राष्ट्रले पूर्वकालदेखि नै चलिआएको र एउटा विशिष्ट पहिचान बोकेको चिजलाई राष्ट्रिय संकेतको रुपमा उभ्याउन सक्छ । जस्तोः झण्डा, भाषा, गीत, पोशाक, जनावर, खेल, पंक्षी । (पूरानो राष्ट्रियगानको हकमा भने कुरो फरक थियो र त्यो परिवर्तन भयो ।) यसमा विवाद किन ? कि अस्थीर सरकार जस्तो सबै भाषाभाषी, जातजाती र धर्मधर्मालम्बीहरुको विशेष पहिचान, भाषा, पहिरन र रितिरिवाजलाई चक्रिय प्रणालीको सरकारको अवधारणा जस्तो ‘चक्रिय राष्ट्रिय संकेत’को रुपमा उभ्याउनुपर्ने हो कि ! नत्र किन यस्तो लफडा ?

‘हामी नेपाली, हाम्रो नेपाल’ सम्पूर्ण नेपालीको आत्मामा बास गरेको मधुर नारा नै यही हो । नेपाली जनता सदैब एक छन्, तर जनता–जनताकाबीच फाटो ल्याएर देशलाई हिंसात्मक दिशातर्फ धकेल्ने काम कसैले पनि नगरौं । त्यो पनि अर्थहीन कुराहरुको बखेडा झिकेर । यो बेलामा सबै एक भएर लागि परौं देशको हितको निमित्त, सीमित स्वार्थकोलागि विवाद चर्काउने काम नगरौं । बरु, दिलो ज्यान लगाउँ–नयाँसंविधानका लागि । राष्ट्रिय एकता र सहमतिका लागि । राष्ट्रको उन्नतिको लागि ।